भक्तपुरका मल्लकालीन सात बहालहरू
DOI:
https://doi.org/10.3126/anweshan.v3i2.87562Keywords:
चुकः, खौमा, थाथु, कुथुAbstract
भक्तपुरमा बौद्ध बहाल, बहीभन्दा फरक धेरै बहालहरू रहेका छन् । यी बहालहरू मध्यकालमा मल्ल राजाहरूले आफ्ना सन्तान वा नजिकका आफन्तलाई दिइएका आवास हुन् । भक्तपुरको हालको दरबार क्षेत्र वरपर अवस्थित सात बहालहरू पनि यस्तै राजकीय स्तरका आवासीय भवनहरू हुन् । यी बहालहरूको सम्बन्ध भक्तपुरका अन्तिम राजा रणजित मल्लसँग रहेको पाइएको छ । रणजित मल्ल भक्तपुरका अन्तिम मल्ल राजा थिए । यी बहालहरूको ऐतिहासिकता र वर्तमान अवस्थाको खोजी खासै नभएको हुँदा यस अनुसन्धानले खोजी गर्ने कोसिस गरेको हो । यी बहालहरू वास्तुकला र प्रयोजनका आधारमा बौद्ध बहाल, बहीभन्दा फरक छन् । दरबारभन्दा बाहिर रहेका छन्, तर दरबारका निकट पाइन्छन् । यी बहालहरूको निर्माण कहिले र कसले गरे, यिनमा केकस्ता कला,वास्तुकला छन् ? यिनको वर्तमान अवस्था केकस्तो छ भन्ने यस अध्ययनको प्रश्न रहेको हुँदा सोको उत्तर खोज्ने कार्य यस लेखमा गरिएको छ । भक्तपुरका सात बहालहरूमध्ये दथु बहाल तथा थाथुबहाल रणजित मल्लभन्दा अगाडि नै बनिसकेको तथ्य ठ्यासफूका आधारमा पाइन्छ । यी बहालमा आवासीय भवनहरू मात्र नभएर खुल्ला चुकः (चोक), इनार, घोडा बाँध्ने किल्ला, कतिपयमा एउटा चुकःत कुनैमा दुईदेखि तीनोटासम्म चुकः रहेका पाइएको छ । खौमा बहालको उत्तरी खण्ड र कुथु बहालको पश्चिमी खण्ड कलात्मक हुनका साथै अझै पनि मौलिक स्वरूपमा रहेको पाइएको छ । सबैभन्दा कम मौलिक अंश भएको बहाल दथु बहाल तथा नासमना बहाल रहेको पाइन्छ । दुवसी बहाल र सन्तनु बहालको बनावटमा भने समानता रही अन्यको दाँजोमा सबैभन्दा कम कलात्मक रहेको तथ्य पाइएको छ ।