बागलुङ र गुल्मीका श्रीस, पुन तथा घर्ती मगरहरू र खानीको इतिहास
DOI:
https://doi.org/10.3126/anweshan.v3i2.87563Keywords:
आगरी, खनेल, लुङ, धाउAbstract
धवलागिरी क्षेत्रका बागलुङसहितका जिल्लाहरूमा बाइस ओटा खानी सञ्चालनमा थिए भने गुल्मीलगायत त्यस आसपासका क्षेत्रहरूमा सोह्र ओटा खानीहरू सञ्चालनमा थिए । त्यसरी गुल्मी र बागलुङ जिल्लामा सञ्चालनमा रहेका खानी उद्योगहरूमा खनेल थरका मगरहरू साइँ, खाइँ, दगाइँ र भलाइँ श्रीस, पुन र घर्तीहरूले खानी पत्ता लगाएर उत्खनन्को कामसमेत गर्ने गर्दथे । वर्तमान बागलुङ र गुल्मी जिल्लामा खनेल थरका मगरहरूको बाक्लो बस्ती रहेको पाइन्छ । अत्याधुनिक प्रविधि विना नै खानी पत्ता लगाउन र खानी खनेर खनिज निकाल्न पारङ्कत (सिद्धहस्त) बागलुङ र गुल्मीका खनेल साइँ, र्खाँ, दगाइँ र भलाइँ, श्रीस, पुन र घर्तीमगरको ती स्थानहरूमा रहेका खानीसँगको अन्तर्सम्बन्धको ऐतिहासिक पक्ष विश्लेषण गर्दै गुल्मी र बागलुङ जिल्लाको खानी खन्ने पेसाको इतिहासका बारेमा जानकारी प्रदान गर्नु यस लेखको मूल उद्देश्य रहेको छ । यस लेखमा माध्यमिक तथ्याङ्कको प्रयोग गरी गुणात्मक अनुसन्धान विधि प्रयोग गरिएको छ । यस लेखका मुख्य अनुसन्धान प्रश्नहरूमा नेपालमा खानी खन्ने पेसाको इतिहास के कस्तो रहेको थियो, बागलुङ र गुल्मी जिल्लाका श्रीस, पुन तथा घर्तीमगरहरूको खानी खन्ने प्रक्रियाहरू, नेपालमा खानी खन्ने पेसा र मगर जातिको अन्तर्सम्बन्ध, बागलुङ तथा गुल्मी जिल्लाका श्रीस–पुन र घर्ती मगरहरू तथा खानीको अन्तर्सम्बन्ध के कस्तो रहेको थियो ? यी जिल्लाका श्रीस, पुन र घर्ती मगरहरूको खानी खन्ने पेसाको अन्त्य किन र कसरी भयो आदि रहेका छन् ।