महिलाको आर्थिक तथा सामाजिक पहिचान निर्माणमा उद्यमशीलता
DOI:
https://doi.org/10.3126/anweshan.v7i01.95047Keywords:
प्रतिनिधित्व, सशक्तीकरण, सीमान्तीकरण, पितृसत्ताAbstract
नाफा आर्जन गर्नका निम्ति नवीन व्यावसायिक कार्यको सुरुवात गर्नु उद्यमशीलता हो । यसमा लगानी, आम्दानी, खर्च, नाफा, घाटा आदिको लेखाजोखा गरिन्छ । नवप्रवर्तन, जोखिम वहन, अवसर पहिचान, स्रोत व्यवस्थापन, निर्णय क्षमता, नेतृत्व विकास तथा सामाजिक उत्तरदायित्व यसका आधार हुन् । नेपाली समाजका महिलाको आर्थिक र सामाजिक पहिचान निर्माणमा उद्यमशीलताले मार्गनिर्देशन गरेको छ । उनीहरूको आर्थिक र सामाजिक प्रतिनिधित्वको सन्दर्भ दृष्टिगत गरी प्रस्तुत अध्ययनमा महिलाको पहिचान निर्माणमा उद्यमशीलताले खेलेको भूमिकालाई समस्याका रूपमा चयन गरिएको छ । उद्यमशीलताका पृष्ठभूमिमा नेपाली समाजका नारीको आर्थिक र सामाजिक पहिचानको मूल्याङ्कन गर्नु यस अध्ययनको उद्देश्य हो । द्वितीयक तथ्याङ्कमा आधारित यस अध्ययनमा उद्देश्यमूलक नमुना छनोट विधिको प्रयोग गरिएको छ । पुस्तकालय कार्यबाट सङ्कलन गरिएका सामग्री विश्लेषण गरी नेपाली समाजमा महिलाको सशक्तीकरणका लागि आर्थिक प्रतिनिधित्वले खेलेको भूमिकाको मूल्याङ्कन गरिएको छ । आर्थिक हैसियत सबल नबनेसम्म महिलाको सामाजिक पहिचान निर्माण हुन नसक्ने वस्तुगत तथ्य यस अध्ययनको नवीन आयाम हो । यो अध्ययनलाई नेपाली समाजमा उद्यमशीलताको मार्गबाट आर्थिक तथा सामाजिक प्रतिनिधित्व सुनिश्चित गरी लैङ्गिक सशक्तीकरणको उद्देश्य हासिल गर्न सकिन्छ भन्ने निष्कर्षमा पुर्याइएको छ ।