मुसाको सिङ कवितासङ्ग्रहको विधागत विश्लेषण
DOI:
https://doi.org/10.3126/dcj.v14i1.89304Keywords:
काव्यचिन्तन, जीवनबोध, प्रकृतिचित्रण, युगबोध, राष्ट्रप्रेमAbstract
कवि भानुभक्त पोखरेलको मुसाको सिङ (२०६१) कवितासङ्ग्रहमा सङ्ग्रहित कविताहरूको विधागत दृष्टिले विश्लेषण नभएको अवस्था प्रस्तुत अध्ययनको प्रमुख समस्या हो । अतः यसै समस्यासँग सम्बद्ध भई शीर्षकीकरण, संरचना, विषयवस्तु तथा भावविधान, छन्द एवम् लयविधान र भाषाशैलीलाई थिमका रूपमा लिएर उक्त कवितासङ्ग्रहमा समाविष्ट कविताहरूको विधागत विश्लेण गर्नु प्रस्तुत अध्ययनको उद्देश्य हो । गुणात्मक शोध ढाँचामा आधारित प्रस्तुत अध्ययनका लागि पुस्तकालयीय कार्यबाट सामग्री सङ्कलन गरी विवेच्य कवितासङ्ग्रहका विशिष्ट पङ्क्तिहरूलाई अध्ययनका सूचक पक्ष मानेर कविता विधाका पक्षलाई अध्ययनको सैद्धान्तिक आधार मानिएको छ । यस क्रममा थिम (विषयवस्तु) हरूलाई वर्णनात्मक र विश्लेषणात्मक अध्ययन विधिका माध्यमबाट शीर्षकीकरण, संरचना, विषयवस्तु तथा भावविधान, छन्द एवम् लयविधान र भाषाशैलीलाई प्राप्तिका रूपमा चर्चा गरिएको छ । विषयवस्तु तथा भावविधानको चर्चा गर्ने क्रममा राष्ट्रप्रेम, नारी स्वतन्त्रता र सामथ्र्य चेतना, जीवनवादी दृष्टिकोण, मानवतावादी दर्शन, प्रेमप्रणय चिन्तन, काव्यचिन्तन, युगबोध र जीवनबोधसम्बन्धी दार्शनिक दृष्टिकोण, व्यङ्ग्यात्मकता, विद्रोही भाव तथा क्रान्तिकारिता, सुरम्य प्रकृति चित्रण, सांस्कृतिक आर्षमहिमा गान, ग्राम विकास प्रियताजस्ता मानव जीवनका विविध विषय र भावहरू विवेच्य सङ्ग्रहका कविताहरूले समेटेको निष्कर्ष प्राप्त भएको छ । कविताहरूको समीक्षा गर्ने विभिन्न दृष्टिकोणहरू रहेता पनि यस अध्ययनका लागि शीर्षक सार्थकता, संरचना, विषयवस्तु तथा भावविधान, छन्द एवम् लयविधान र भाषाशैलीका दृष्टिले मात्र समीक्षा गर्नु यस लेखको सीमा हो । प्रस्तुत लेखमा गर्भे टिप्पणी र सन्दर्भ सामग्री सूचिलाई एपिए पद्धतिको ढाँचामा सातौँ संस्करणअनुसार राखिएको छ ।