खोटाङ जिल्लामा बसाईं सराइ र वैदेशिक रोजगारीः कारण र प्रभाव अध्ययन
DOI:
https://doi.org/10.3126/dmcj.v10i9.90600Keywords:
बसाइँसराइ, वैदेशिक रोजगारी, रेमिट्यान्स, जनसांख्यिक असन्तुलन, ग्रामीण विकासAbstract
नेपालका ग्रामीण पहाडी क्षेत्रहरूमा बसाइँसराइ एक लगातार गहिरिँदो सामाजिक–आर्थिक प्रक्रिया बनेको छ, जसले स्थानीय जनजीवन, समुदायको संरचना र परम्परागत जीवनशैलीलाई व्यापक रूपमा रूपान्तरण गरिरहेको छ । खोटाङ जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई केन्द्रमा राखेर बसाइँसराइ तथा वैदेशिक रोजगारीको कारण तथा प्रभावको अध्ययन गर्ने उद्देश्य अनुरुप गरिएको यस अध्ययनले पहाडी भूगोलमा विद्यमान पूर्वाधार अभाव, शिक्षा–स्वास्थ्य सेवामा असमान पहुँच, यातायात कठिनाइ, कृषि आयमा गिरावट, तथा नयाँ अवसरको खोजजस्ता कारणहरूले स्थानीयहरूलाई आफ्नो जन्मथलो छोड्न प्रेरित गरेको यथार्थलाई समग्र रूपमा विश्लेषण गर्दछ । युवाले गाउँमा भविष्य नदेख्दा शहर वा विदेशतर्फ आकर्षित हुने बढ्दो प्रवृत्तिले पहाडी बस्तीहरूमा श्रमशक्तिको अभाव, कार्य–विभाजनको असमानता, परम्परागत पेसाको कमजोर आधार, तथा परिवारमा निर्णयकर्ताको अनुपस्थिति जस्ता सामाजिक चुनौतीहरू देखापरेका छन् । ग्रामीण समुदायबाट शहर र तराईतर्फको आन्तरिक बसाइँसराइ र बाह्य प्रवास दुवैले नेपालको भौगोलिक, सामाजिक र सांस्कृतिक पर्यटनलाई नयाँ रूप दिन थालेको छ ।
अध्ययनले गुणात्मक र परिमाणात्मक दुवै पद्धतिहरू अवलम्बन गदै सम्भावनायुक्त नमुना छनौट विधि अन्तर्गतको उद्देश्यमूलक नमूना छनौट विधिको संयोजन मार्फत बसाइँसराइका कारण र प्रभावहरूको बहुआयामिक स्वरूपलाई उजागर गर्दछ । वैदेशिक रोजगारको बढ्दो आकर्षणले ग्रामीण आर्थिक संरचनामा महत्वपूर्ण परिवर्तन ल्याएको छ एकातिर रेमिट्यान्सले घर निर्माण, शिक्षा, स्वास्थ्य सेवा तथा उपभोग क्षमतामा उल्लेख्य सुधार ल्याएको छ । अर्कोतर्फ परिवार विखण्डन, दाम्पत्य तनाव, बालबालिकामा मानसिक प्रभाव, तथा सामाजिक सहकार्य प्रणाली कमजोर हुँदै जाने अवस्थाहरू पनि उभिएका छन् । श्रमशक्ति बाहिरिँदा पहाडी क्षेत्रमा कृषि गतिविधि कमजोर हुँदा उत्पादन घट्ने, बारी बाँझिनु, पशुपालनको अवनति, तथा सामुदायिक श्रम व्यवस्था विघटनजस्ता समस्या उत्पन्न भएका छन् । त्यस्तै, शहरमा बढ्दो चापले नयाँ आर्थिक अवसर र सेवा विस्तारकासम्भावना जन्माए पनि, असमानता, अनियमित बस्ती,सामाजिक विभाजन र प्रतिस्पर्धात्मक दबाबजस्ता चुनौतीहरू बढाएका छन् । बसाइँसराइको यो जटिल प्रकृतिले ग्रामीण–शहरी असमानता, पहाड–तराई, र सांस्कृतिक निरन्तरतामा गहिरो प्रभाव पारेको देखिन्छ ।
दिगो विकासका दृष्टिले हेर्दा बसाइँसराइ केवल समस्या नभई सामाजिक रूपान्तरणको अविभाज्य प्रक्रिया हो, जसले नयाँ अवसरहरू पनि निर्माण गर्दछ तर व्यवस्थापनसँगै नआएमा असन्तुलन उत्पन्न गर्न सक्छ । अध्ययनले ग्रामीण क्षेत्रमा जीवनस्तर सुधार्ने पूर्वाधार निर्माण, स्थानीय रोजगारी र उद्यमशीलता विस्तार, कृषि आधुनिकीकरण, तथा रेमिट्यान्सलाई उत्पादनमुखी क्षेत्रमा परिचालन गर्न सक्ने नीतिगत रणनीति अपनाउन सुझाव प्रस्तुत गर्दछ । पहाडी बस्तीहरूलाई बस्नयोग्य, सुरक्षित र अवसर सम्पन्न बनाउने प्रयासले मात्रै आन्तरिक तथा बाह्य बसाइँसराइको दवाबलाई सन्तुलित गर्न सकिन्छ । यस अध्ययनले नेपालका सामाजिक–आर्थिक रूपान्तरण बुझ्न इच्छुक अनुसन्धानकर्ता, नीति निर्माताहरू तथा स्थानीय निकायहरूका लागि उपयोगी आधारका रूपमा काम गर्ने उद्देश्य राख्दछ, र बसाइँसराइलाई दीर्घकालीन विकाससँग जोडेर बुझ्न आवश्यक भएको निष्कर्षमा पुग्दछ ।