विषयका रुपमा मातृभाषासम्बन्धी नेपालको नीति र विद्यालयीय अभ्यास
DOI:
https://doi.org/10.3126/pragyaratna.v7i1.84636Keywords:
गुणात्मक विधि, नेपाल भाषा, विद्यालयीय अध्ययन, स्थानीय समुदाय, शैक्षिक नीतिगत अन्तरAbstract
नेपालमा मातृभाषा शिक्षासम्बन्धी नीतिहरू संवैधानिक व्यवस्था, कानुनी प्रावधान तथा शैक्षिक योजनामा स्पष्ट रूपमा समावेश गरिएका छन । विद्यालयीय अभ्यासमा भने ती नीतिहरूको कार्यान्वयनमा उल्लेख्य अन्तर देखिन्छ । प्रस्तुत अध्ययनले मातृभाषालाई विषयका रूपमा प्रयोग गर्ने सम्बन्धमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नीतिहरू, रणनीतिहरू र विशेषतः नेपाल भाषाको शैक्षिक अवस्थालाई विश्लेषण गरेको छ । गुणात्मक अनुसन्धान पद्धतिमा आधारित यस अध्ययनका लागि अन्तर्वार्ता र संलेखमार्फत तथ्य सङ्कलन गरिएको छ । अध्ययन क्षेत्रका रूपमा काठमाडौं जिल्लास्थित गुठीद्वारा सञ्चालित विद्यालय र भक्तपुर जिल्लास्थित सामुदायिक विद्यालयलाई छनोट गरिएको छ भने प्रधानाध्यापक, भाषा आयोग अध्यक्ष र भाषाविद्हरूलाई नमुना सहभागीका रूपमा चयन गरिएको छ । तथ्यहरूको वर्णनात्मक र व्याख्यात्मक विश्लेषणले शिक्षा सम्बन्धी ऐन, नियमावली र नीतिगत कागजातहरूले मातृभाषालाई विषयका रूपमा अनिवार्य रूपमा समावेश गर्न विशेष जोड दिएको देखाएको छ । यद्यपि, स्थानीय सरोकारवालाको सक्रियता र सामग्री विकासका प्रयासका बाबजुद मातृभाषिक समुदाय र स्थानीय सरकारको नीतिगत तथा संरचनात्मक कारणले नेपाल भाषा विषयको निरन्तरतामा कठिनाइ देखिएको छ । यसरी, नेपालमा मातृभाषा विषयसम्बन्धी नीति प्रगतिशील र अधिकारमैत्री भए पनि विद्यालयीय अभ्यास अपूरो र असमान रहँदै आएको छ । नीतिगत र व्यवहारगत अन्तर घटाउनका लागि स्थानीय समुदाय, विद्यालय र राज्यबीच प्रभावकारी समन्वय, पाठ्यपुस्तक र स्रोतसामग्रीको विकास, शिक्षक तालिम र मूल्याङ्कन प्रणालीको सुदृढीकरण आवश्यक छ भन्ने निष्कर्षमा अध्ययन पुगेको छ ।