नारी नाटककारका नाटकमा लोकविश्वास
DOI:
https://doi.org/10.3126/prajna.v126i1.86375Keywords:
अन्ध आज्ञापरायणता, अपशकुन, आत्मशीलता, लोकधर्म, शकुनAbstract
नेपाली नाट्यपरम्परामा नारी नाटककारको उपस्थिति नेपाली नाटकको आधुनिक कालमा आएर मात्र देखिएको पाइन्छ । नेपाली एकाङ्की क्षेत्रमा २०११ सालबाट र पूर्णाङ्की नाटकमा २०१५ सालबाट मात्र नारी नाटककारको उपस्थिति देखिन्छ । प्रस्तुत लेखमा उद्देश्यमूलक रूपमा नारी नाटककारका नाटक–एकाङ्कीको चयन गर्दै तिनमा रहेका लोकविश्वासको अध्ययन विश्लेषण गर्दा ती नाटकहरूमा लोकविश्वासको व्यापक प्रयोग पाइन्छ । लोकजीवनको आरम्भसँगै लोकविश्वासको आरम्भ भएको हो । अदृश्य शक्तिलाई बढी महत्त्व दिएर हरेक भयबाट मुक्त हुनकै लागि अथवा अशुभबाट शुभको मार्ग पहिल्याउँदै त्यसको निदानात्मक कार्यान्वयनका लागि अनेक धार्मिक तथा सांस्कृतिक क्रियाकलापमा आधारित लोकविश्वास सिर्जित र प्रचलित पाइन्छन् । यस लेखमा सावित्री पोखरेलको कलंकी समाज (२०५०) र विचलित वर्तमान नाटक, सुधा त्रिपाठीको निःश्वासका गुजुल्टाहरू (२०५५) एकाङ्कीसङ्ग्रहमा समावेश उनी फर्कंदिनन् कि ! एकाङ्की, जयन्ती ‘स्पन्दन’ र विजया ‘स्मृति’ को संयुक्त लेखनमा प्रकाशित दिदीबहिनी (२०६३) एकाङ्कीसङ्ग्रहमा समावेश चेतना, जागा नहोऊ, सुत र जीवनस्रोत एकाङ्कीको लोकविश्वाससँग सम्बन्धित मान्यताका आधारमा अध्ययन र विश्लेषण गरिएको छ । साहित्यमा जीवनजगतको प्रतिबिम्ब प्रकट हुने हुँदा लोकविश्वासको प्रयोगविना जीवनको वास्तविकता बोध गराउन कठिन हुन्छ । लोकको विश्वास, आस्था र पत्यार नै लोकविश्वास हो भन्ने सैद्धान्तिक मान्यतालाई लिएर नारी नाटककारका नाटक, एकाङ्कीको निगमनात्मक विधिद्वारा विश्लेषण गरिएको छ । नारी नाटककारका नाटकमा विविध प्रकारका लोकविश्वासको प्रयोग देखिनुका साथै समयसान्दर्भिक कतिपय लोकविश्वासहरू जस्तै लैङ्गिकताप्रति नकारात्मक अर्थ राख्ने लोकविश्वासहरू र अन्धविश्वासहरू परिवर्तित हुँदै जानुपर्ने चेतनाले युक्त रहेका छन् भन्ने निष्कर्ष निकालिएको छ ।