सहिद कथामा क्षण, जाति र पर्यावरण
DOI:
https://doi.org/10.3126/srj.v3i1.93334Keywords:
प्रजाति, युग, वर्गसङ्घर्ष, सामन्ती, सामाजिक संरचनाAbstract
प्रस्तुत लेख हिपोलाइट टेनको समाजशास्त्रीय साहित्यिक विश्लेषणका आधारमा स्थापित सिद्धान्तसँग सम्बन्धित छ । साहित्यको समाजशास्त्रीय चिन्तनका महत्त्वपूर्ण व्यक्तिका रूपमा रहेका टेनको समाजशास्त्रीय आधारभूत मान्यताका रूपमा क्षण, जाति र पर्यावरणसम्बन्धी मार्गबाट गुरूप्रसाद मैनालीको सहिद कथाको विश्लेषण गरिएको छ । पाठविश्लेषण विधिको प्रयोग गरी सोही सिद्धान्तका आधारमा राष्ट्र, स्वतन्त्रता र जनहितका लागि प्राण आहुति दिने व्यक्तिको त्याग, साहस र निष्ठाले व्यक्तिगत पीडा र परिवारको वियोगभन्दा ठुलो मूल्य राष्ट्रको मुक्ति र सामाजिक परिवर्तनलाई मानिएको छ । प्रस्तुत कथामा क्षण (समय÷घटना), जाति (सामाजिक संरचना) र पर्यावरण (भौतिक तथा सामाजिक परिवेश) एकअर्कासँग गाँसिएर सहिदको जीवन, सङ्घर्ष र बलिदानलाई अर्थपूर्ण बनाएका छन् । कथाको पर्यावरण डर, त्रास, अन्याय र दमनले भरिएको राजनीतिक–सामाजिक परिवेश हो । वातावरण निराशाजनक भए पनि प्रतिरोधको चेतना बलियो भएको देखाइएको छ । कथामा क्षणले भावनात्मक उत्कर्ष दिन्छ, जातिले सामाजिक अन्याय र वर्गसङ्घर्ष उजागर गर्छ र पर्यावरणले संघर्षको आधारभूमि तयार गर्छ । यी तत्वहरूको सशक्त संयोजनले सहिद कथालाई भावुक आख्यान नभई राजनीतिक चेतना र सामाजिक परिवर्तनको परिवेशलाई प्रस्तुत गरेको छ । यस अध्ययनमा पुस्तकालयीय कार्यबाट सामग्रीको सङ्कलन गरी पाठविश्लेषण क्रममा निगमनात्मक विधिको प्रयोग गरीएको छ । कथामा प्रस्तुत जातीय संरचना र सामाजिक पदक्रमले पात्रहरूको पहिचान, सम्मान र जीवनदिशामा पारेको प्रभावसँगै समय परिस्थितिले पात्रहरूको सोच, निर्णय र व्यवहारलाई कसरी घेर्छ भन्ने शोधसमस्यालाई स्पष्ट पारेको छ । टेनका अनुसार साहित्य कुनै एक्लो कल्पनाको उपज नभई समय, समाज र परिवेशको परिणाम हो भन्ने मान्यता सहिद कथामा स्पष्ट देखिन्छ । यस लेखले कथामा क्षणले ऐतिहासिक चेतना, जातिले सामाजिक प्रतिनिधित्व र पर्यावरणले विद्रोहको आधार निर्माण गरेको निष्कर्ष प्रस्तुत गर्दछ ।