अद्वैतवेदान्तदर्शनसम्मत अविद्यास्वरूपको समीक्षा
Keywords:
अनिर्वचनीय, अविद्या, उपादान, त्रिगुणात्मक, निदिध्यासन, मननAbstract
अद्वैतवेदान्त दर्शनअनुसार अविद्याको लक्षण र प्रमाणको निरूपण गरी अविद्याको आश्रय र विषयका बारेमा आचार्यहरूको मतभेदको विश्लेषण गर्ने उद्देश्यले यो लेख तयार पारिएको छ । यस लेखमा प्राथमिक स्रोतका सामग्री सङ्कलनका लागि भौतिक पुस्तकालय तथा अन्तर्जाल पुस्तकालयको उपयोग गरिएको छ । सङ्कलित सामग्रीहरूलाई प्रस्थानत्रयीको शाङ्करभाष्य र भाष्यव्याख्यानधाराको सैद्धान्तिक आधारबाट विश्लेषण एवं विमर्श गरिएको छ ।अद्वैतवेदान्तमतमा अविद्या विद्याविरोधी अनादि भाव वस्तु हो । अविद्या जगत्को कारण हो । ईश्वरले अविद्यालाई वशमा लिएर सृष्टि गर्नुहुन्छ । जो अनादि भावरूप भइकन ज्ञानद्वारा निवृत्त हुन्छ, त्यही अविद्या हो । अथवा भ्रमको उपादान नै अविद्या हो । अविद्या अनिर्वचनीय छ । माया ब्रह्मज्ञानद्वारा बाधित हुने भएकाले सत् होइन, अपरोक्षतया भासित हुने भएकाले असत् होइन । सत् र असत् परस्परविरुद्ध भएकाले माया सदसदुभयात्मक पनि होइन । मायाको कार्य प्रपञ्च त्रिगुणात्मक भएकाले कारण माया पनि त्रिगुणात्मक छ । मायालाई सिद्ध गर्ने प्रमाणहरू ‘अहमज्ञः’ इत्याकारक अनुभव , अनुमान, तथा श्रुतिवाक्यहरू छन् । भगवत्पादले माया र अविद्यालाई पर्यायको रूपमा प्रयोग गरेका छन् भने परवर्ती आचार्यहरूले माया र अविद्यालाई अलगरूपले प्रयोगगरेका छन् । भामतीप्रस्थानअनुसार अविद्याको आश्रय जीव र विषय ब्रह्म हो भने विवरणप्रस्थानअनुसार दुवै ब्रह्म हो । जगत्को विवर्तोपादान ब्रह्म र परिणाम्युपादान अविद्या रहेको छ ।