स्नातक तहको नेपाली शिक्षा विषयका पाठ्यांशमा समाविष्ट साहित्यिक विधाको पर्याशैक्षणिक पर्यालोकन
DOI:
https://doi.org/10.3126/anweshan.v3i2.87555Keywords:
पर्यावरणीय सन्तुलन, पर्याचेत, पर्यावरण संरक्षण, सांस्कृतिक पर्यावरणAbstract
पर्यावरणीय पक्षको सन्तुलन र संरक्षण वर्तमान मानव समाजका लागि अपरिहार्य छ । यसको औचित्यका सम्बन्धमा दिगो विकास लक्ष्यले पनि जोड दिएको छ । प्रत्येक व्यक्तिमा औपचारिक कक्षाका पाठ र पाठ्यांशका माध्यमबाट पर्यावरणीय चेतना विकास गर्न आवश्यक रहने हुनाले पर्याशैक्षणिक सन्दर्भ वर्तमान समयको मुख्य आवश्यकता बनेको छ । प्रस्तुत लेख त्रिविअन्तर्गतका स्नातक तहमा समाविष्ट नेपाली विषयका पाठ्यांशमा रहेका पाठहरूमा प्रस्तुत गरिएका पर्याशैक्षणिक पक्षको विश्लेषण गर्नु रहेको छ । गुणात्मक ढाँचामा तयार पारिएको यस लेखमा निर्दिष्ट पाठ्यांशमा समाविष्ट पर्यावरणीय विषयवस्तु उल्लेख भएका पाठ तथा तिनमा अभिव्यक्त विचारलाई प्राथमिक स्रोतका रूपमा लिइएको छ । त्यसैगरी पर्यावरणीय समालोचना र पर्याशैक्षणिक सन्दर्भसँग सम्बद्ध सैद्धान्तिक ग्रन्थ, लेख तथा प्रतिवेदनलाई द्वितीयक स्रोत सामग्रीका रूपमा उपयोग गरिएको छ । आलोचनात्मक विश्लेषण प्रक्रिया अपनाइएको यस लेखमा निर्दिष्ट पाठ्यांशका पर्यावरणीय विषयवस्तु मूल तथ्य बनेका छन् । निर्दिष्ट ‘अनिवार्य नेपाली’ पाठ्यांशमा रहेकामा जम्मा छओटा कवितामध्ये जम्मा एउटा कविता पर्यावरणीय सन्दर्भसहित सचेतता पाइएकाले पर्याशैक्षणिक दृष्टिबाट उक्त पाठ्यांशमा रहेका पाठहरू चयनीय मान्न सकिँदैन । त्यस्तै बिएड प्रथम वर्षको मेजर तथा माइनर विषयका रूपमा रहेको ‘नेपाली कथा र उपन्यास’ पाठ्यांशमा रहेका कथाहरू पर्याशैक्षणिक दृष्टिले हेर्दा चयनीय छैनन् भने अर्को मेजर विषयका रूपमा रहेको ‘नेपाली नाटक, एकाङ्गी र ‘निबन्ध’ पाठ्यांशमा एउटा एकाङ्गी मात्र पर्याशैक्षणिक दृष्टिले उपयुक्त देखिन्छ । बिएड दोस्रो वर्षको ‘नेपाली कविता र काव्य’ पाठ्यांशका रचनामध्ये तीनोटा रचनामा पर्याचेत प्रकट भएको र अन्य केही रचनामा पनि पर्यावरणीय पक्ष पर्याप्त उल्लेख गरिएकाले पर्याशैक्षणिक दृष्टिले उक्त पाठ्यांशलाई उपयुक्त मान्न सकिन्छ । त्यसैगरी बिएड तेस्रो वर्षको ‘‘साहित्यशास्त्र र नेपाली समालोचना’ पाठ्यांशमा पनि पर्यावरणीय समालोचना समावेश गरी तत्सम्बन्धी क्षमता विकाससहित सचेतता अभिवृद्धि गर्न सकिने भए पनि उक्त पाठ्यांशमा पर्यावरणीय समालोचनालाई प्रविष्ट गरिएको छैन । साथै अन्य पाठ्यांशमा पनि पर्यावरणीय सन्दर्भ, तत्सम्बन्धी शब्दभण्डार, अभ्यास र परियोजना कार्यहरू कुनै न कुनै रूपमा प्रश्रय दिन सकिने भए तापनि त्यस्ता पक्षलाई प्रवेश गराइएको देखिँदैन । तसर्थ पर्याशैक्षणिक दृष्टिले बिएडका नेपाली विषयका पाठ्यांशलाई सकारात्मक भन्न सकिने अवस्था देखिँदैन ।