नेपाली भाषाकक्षामा अन्तरभाषिक पद्धतिबारे भिन्न मातृभाषी शिक्षक–विद्यार्थीको दृष्टिकोण
Keywords:
अन्तरभाषिकता, अन्तरभाषिक पद्धति, बहुभाषिकता, नेपाली भाषाकक्षा, भिन्न मातृभाषाAbstract
बहुभाषिक कक्षाशिक्षणलाई प्रभावकारी बनाउने एक महत्त्वपूर्ण पद्धतिका रूपमा अन्तरभाषिक पद्धतिलाई लिइन्छ । भिन्न मातृभाषी शिक्षक तथा विद्यार्थीहरूको शिक्षण सिकाइमा अन्तरभाषिकताले प्रभाव पार्न सक्ने भएकाले कक्षा शिक्षणप्रति उनीहरूको वास्तविक बुझाइ र दृष्टिकोण पहिल्याउनु यस अध्ययनको उद्देश्य रहेको छ । यस अध्ययनमा अनुसन्धानको गुणात्मक ढाँचा र अनलाइन माध्यमबाट शिक्षक विद्यार्थीहरूसँग खुला प्रश्नावली भराई प्राथमिक स्रोतका तथ्यहरू सङ्कलन गरिएको छ । सङ्कलित तथ्यलाई विभिन्न थिममा व्यवस्थित पारी व्याख्या विश्लेषण गरिएको छ । बहुभाषिक कक्षाकोठामा अन्तरभाषिक शिक्षण पद्धति उपयोगी र प्रभावकारी हुन्छ। यस पद्धतिले विद्यार्थीको संज्ञानात्मक विकासमा सहयोग पुर्याउनुका साथै पूर्वभाषिक ज्ञानको उपयोगबाट सिकाइमा प्रभावकारिता ल्याउँछ। शिक्षकहरू अन्तरभाषा प्रयोगप्रति जानकार छन्। उनीहरूले केही मात्रामा भए पनि कक्षामा त्यस मान्यताको उपयोग गरेका छन् तर त्यो पर्याप्त छैन। कक्षाकोठाको भाषिक र प्रयोगगत कठिनाइका कारण यसको प्रभावकारी उपयोग हुन नसकेको जस्ता मुख्य निष्कर्ष यस अध्ययनबाट प्राप्त भएको छ । तथापि भाषाकक्षामा विद्यार्थीका पूर्वभाषिक ज्ञानको उपयोग हुनु नै अन्तरभाषिक शिक्षण पद्धतिको मूल मर्म भएकाले नेपालका बहुभाषिक कक्षाकोठाको सिकाइ सहजीकरणको सुधारका लागि अन्तरभाषिकता एक उत्तम उपाय हुन सक्छ ।