अमर आकाशका कवितामा प्रेम
Keywords:
उदात्तता, करुणा, प्रसन्नता, मसिहा, मैत्री, सौन्दर्यAbstract
प्रस्तुत लेखमा अमर आकाशका कवितामा प्रेमको अभिव्यक्तिका निम्ति प्रयुक्त दार्शनिक पक्षको खोजी गरी त्यसको औचित्यको मूल्याङ्कन गरिएको छ । प्रेम भनेको व्यक्तिले रुचाएका प्रियपात्रहरूको खुसी र स्वतन्त्रतामा आनन्दित हुन खोज्ने मनोभाव हो । यसले प्रेम गर्ने व्यक्तिहरूमा एकापसमा आदरको भाव र विश्वासको वातावरण सिर्जना गर्ने काम गर्दछ । त्यसैले यसमा वैयक्तिक प्रतिस्पर्धा, ईष्र्या वा द्वेषका विपरीत हार्दिकता, पल पलको निकटता, मैत्री र करुणाको भावना कायम भइरहन्छ । अमर आकाश पछिल्लो पुस्ताका सक्रिय कवि हुन् । उनको 'टुङ्गना' (२०८०) कवितासङ्ग्रहमा सङ्कलित 'तिमी छैनौ', 'तिमी' र 'मसिहा पप्पी' कवितालाई सोद्देश्यमूलक रूपमा चयन गरी तिनमा अभिव्यक्त प्रेमको आशय पहिचान गरिएको छ । प्रेम अभिव्यक्तिका दृष्टिले अमर आकाशका कविताको वैचारिक प्रक्रिया वा प्रेमानुभूतिका दार्शनिकता केकस्ता छन् र तिनले केकस्तो अन्तर्दृष्टि दिएका छन् भन्ने समस्याको समाधानहेतु यस लेखमा उपर्युक्त कवितामा प्रयुक्त प्रेमको दार्शनिकता विश्लेषण गर्ने उद्देश्य रहेको छ । यस अध्ययनका निम्ति हन्ह (सन् २००८) का बुद्धका र सिंह (२०८०) का रुमीका प्रेमसम्बन्धी आधारभूत मान्यतालाई सैद्धान्तिक ढाँचाका रूपमा अवलम्बन गरी गुणात्मक शोधअन्तअन्तर्गत चयन गरिएका कविताहरूको पाठगत विश्लेषण गरिएको छ । यस क्रममा यस लेखमा अमर आकाशका कवितामा प्रेममा हुने करुणा र मैत्री तथा प्रसन्नता र पीडाको सम्प्रेषण भएको र कवितामा दुवै पक्षको अभिव्यक्ति प्रभावकारी भए पनि वक्ताको आशय चाहिँ करुणा र मैत्रीमा आधारित प्रेमको उदात्तता सम्प्रेषणतर्फ अभिमुख रहेको निष्कर्ष निकालिएको छ ।