बैँसको मान्छे उपन्यासमा प्रजाति, क्षण र परिवेश
Keywords:
आदिम प्रवृत्ति, क्षण, परिवेश, प्रजाति, मानसिक संरचनाAbstract
प्रस्तुत शोधलेखमा पारिजातद्वारा लेखिएको बैँसको मान्छे उपन्यासको समाजशास्त्रीय अध्ययन गरिएको छ । यस शोधलेखमा साहित्यको समाजशास्त्रअन्तर्गतका विभिन्न विचार पद्धतिमध्ये हिप्पोली तेनद्वारा प्रतिपादित प्रत्यक्षवादी विधेयवादी धाराअन्तर्गतका प्रजाति, क्षण र परिवेशसम्बन्धी मान्यताका आधारमा बैँसको मान्छे उपन्यासको अध्ययन गरिएको छ । यस क्रममा उपन्यासमा के कस्ता प्रजातिगत विशेषता प्रकट भएका छन् र त्यसमा पारिजातको प्रजातिगत विशेषताको कस्तो प्रभाव परेको छ भन्ने अध्ययन गर्नुका साथै उपन्यासले तत्कालीन नेपाली समाजको युगीन चिन्तन र भौगोलिक, आर्थिक तथा राजनीतिक परिवेशलाई कसरी चित्रण गरेको छ भन्ने जिज्ञासाको समाधान खोज्ने प्रयत्न गरिएको छ । तसर्थ हिप्पोली तेनको समाजशास्त्रीय अवधारणा प्रजाति, क्षण र परिवेशसम्बन्धी अवधारणालाई सैद्धान्तिक ढाँचाका रूपमा अवलम्बन गरी गुणात्मक शोधअन्तर्गत बैँसको मान्छे उपन्यासको विश्लेषण गरिएको छ । अध्ययनका क्रममा मूलतः पाठविश्लेषण पद्धति अँगालिएको छ र विषयको पुष्ट्याइँका लागि निगमनात्मक तर्कपद्धतिको उपयोग गरिएको छ । अध्ययनको अन्त्यमा बैँसको मान्छे उपन्यासमा विभिन्न पात्रहरूको प्रयोग भए तापनि तिनको प्रजातिगत विशेषताको सघन अभिव्यक्ति भने नभएको तथा तत्कालीन नेपाली समाजको युगीन चेतनालाई प्रस्तुत गर्नुका साथै सामाजिक, आर्थिक, राजनीतिक परिवेशको स्पष्ट चित्र उतारिएको निष्कर्ष निकालिएको छ ।