बटुक व्यवसायको जीविकोपार्जनमा योगदान
Keywords:
बटुक व्यवसाय, दिगो जीविकोपार्जन उपागम, मगर संस्कृति, अनौपचारिक अर्थतन्त्रAbstract
प्रस्तुत लेख सिद्धार्थ राजमार्गको पाल्पा-तानसेन सडक खण्डमा सञ्चालित परम्परागत बटुक व्यवसाय र यसले स्थानीय लघु व्यवसायीहरूको जीविकोपार्जनमा पारेको प्रभावको समाजशास्त्रीय विश्लेषणमा केन्द्रित छ । च्याम्बर र कनवेको ‘दिगो जीविकोपार्जन उपागममा आधारित रही अध्ययन क्षेत्रका १८ वटा पसलहरूबाट उद्देश्यमूलक नमुना छनोट गरी प्राथमिक तथा द्वितीयक तथ्याङ्क सङ्कलन गरिएको थियो । अध्ययनले परम्परागत मगर संस्कृति र आधुनिक अनौपचारिक अर्थतन्त्रबीचको अन्तरसम्बन्धलाई उजागर गरेको छ । न्यून आर्थिक पुँजीबाट सुरु हुने यो व्यवसाय स्थानीय सीमान्तकृत परिवारहरूको आर्थिक जीवनको मेरुदण्ड बनेको छ, जसले शिक्षा र स्वास्थ्यजस्ता आधारभूत आवश्यकता परिपूर्तिमा महत्त्वपूर्ण योगदान पुर्याएको छ । वार्षिक करिब ३ करोड रुपैयाँको आर्थिक कारोबार हुने यस क्षेत्रमा उच्च नाफा दर (३०%-५०%) देखिए पनि सडक दुर्घटनाको जोखिम, कानुनी अनौपचारिकता र सामाजिक प्रतिष्ठाको अभाव जस्ता संरचनागत चुनौतीहरू अझै विद्यमान छन् । परम्परागत सांस्कृतिक पुँजीलाई आधुनिक आर्थिक पुँजीमा बदल्ने यस व्यवसायलाई दिगो बनाउन राज्य र स्थानीय तहको नीतिगत हस्तक्षेप आवश्यक देखिन्छ ।